बाघचाल नेपालको आफ्नो मौलिक खेल हो , जुन बर्षौ देखि हाम्रा हजुरबुबा, बुबाहरुले खेल्दै आउनुभएको छ | थकाई लाग्दा, घाम ताप्दा, जमघट हुँदा , जहाँ पनि दुईजना बीच खेल्न सकिने यस बाघचाल आफैमा रमाइलो त छदै छ, बौद्धिक कसरत पनि उत्तिकै पर्छ | जुवा-तास वा अन्य केहिमा समय फाल्नु भन्दा बाघ र बाख्राको यस थुन-छेकमा हाम्रा अग्रजले मनोरंजन देखेका थिए | खेल्नलाई कुनै महँगो सामग्री जुटाउनु परेन, औपचारिकता निभाउनु परेन ; २० ओटा साना ढुंगालाई बाख्रा मान्यो , ४ ओटा अलि ठुला लाई बाघ मान्यो …. अनि सुरु हुन्छ बाघ र बाख्राबिचको खेल चारकोठे घेरोभित्र | यसमा चेस जस्तो राजा-रानी, ऊँट, हात्ती सबै जुटाईरहन परेन | खेलका नियम सरल अनि स्पष्ट छन् |
समयसंगै जीवनशैली बदलिएको छ | गाउँका चौतारी सम्म पुग्ने, चिया पीउंदै गफ मार्ने अनि बाघचालका धर्सा सुकिलो ढुङ्गोमा कोर्ने फुर्सद न रामे, साईलो, हर्केलाई रह्यो, न तपाईंलाई | प्रविधिले सबै कुराको शैली फेरिदिएको छ | अब हामीलाई बाघ र बाख्रा रुपी ढुंगा, कोठै कोठा भएका धर्सा कोर्ने ठाउँ, अनि छेउमै अर्को मिल्ने साथी खोजिरहन पर्ने छैन | केवल चाहियो यो इन्टरनेट | अब हामी बाग्लुंगका गाउँ र ‘गार्डेन अफ ड्रिम्स’ मा बसेर बागचालमा एकैसाथ रमाउन सक्छौं | भौगोलिक सिमाना र दुरीले छेक्ने छैनन् |
हामी अहिले बाघचालको अनलाईन संस्करण सहित उपस्थित छौ | हामीलाई यो अवसर तपाईंसामु बाँड्न पाउँदा अत्यन्तै खुसि लागेको छ | प्रयोग गर्न सजिलो होस् भनेर सकेसम्म सरलीकृत गरिएको छ | बाघचालको अनलाईन पेजमा जानुहोस, आफ्नो इमेल सहित लग- इन गर्नुहोस र ‘नयाँ खेल’ सृजना गरेर साथीलाई कुर्नुहोस | तपाई जस्तै अरु उत्साही व्यक्तिहरु खेल्न कुरिरहेका छन् भने सिधै अर्को व्यक्तिसंग भिड्न सक्नुहुनेछ | नभए, तपाइँसंग खेल्न पक्कै कोहि आईपुग्ने छन् | इमेल गरेर वा फेसबुक, ट्विटर, गुगल+, आदि जस्ता संजालबाट पनि तपाईं आफ्ना साथीलाई खेलमा निम्त्याउन सक्नुहुन्छ |
देशले सूचना -प्रविधि र बिकासमा जति सुकै छलांग मारोस, हामी आफ्ना पुराना निधिलाई प्रबर्धन गर्ने अठोट गर्छौ | यस्ता मौलिक खेल परम्परा, संस्कृति हाम्रा सम्पति हुन्, जसलाई मेटेर अघि जानु भन्दा नयाँ प्रविधि मिल्दो बनाउनु आफ्नु बिशिस्टता हो, भन्ने हाम्रो ठम्याई छ | यो अनलाईन- बाघचालको सग्लो अनुहार, हाम्रो लगभग बर्षदिनजतिको चाँजो-पाँजो र मेहनतको मुर्त रुप हो | यसमा प्रयोग गरिएको प्रविधि , नेपालमा यस अघि सायदै प्रयोग गरिएको होला | हामि त ‘सेमिकोलन भ्याली’ मा बाघचाल खेल्दा रमाइलो महसुस गर्छौ …. तपाईं नि ? कृपया प्रतिक्रिया दिनुहोस |
बाघचाल वेबसाइट लन्च र अफिसमा हेमको बर्थडे पनी आजै परेको दोहोरो बर्थडे माहोल बाँड्न पाउनु हाम्रो लागि अविस्मरणीय क्षण बनेको छ ।
0 comments